व्यापार घाटा १३ खर्ब नाघ्यो
काठमाडौं–नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँ माथि पुगेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको भन्सार विभागबाट आज सार्वजनिक तथ्यांकमा देखिएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ थियो, जुन चालू आर्थिक वर्षको तुलनामा १।७२ प्रतिशतले बढी हो। जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालको आयात १।८४ प्रतिशत र निर्यात ३।०१ प्रतिशतले घटेको छ। जेठ मसान्त अर्थात् चालू आर्थिक वर्षको ११ महिनामा नेपालले कुल १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो।
विभागका अनुसार जेठ मसान्तसम्म नेपालबाट कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ। गत वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो।







