लगानी सम्मेलनः विभिन्न १२ विषयगत सत्रमा छलफल
काठमाडौं–आइतबारदेखि जारी तेस्रो लगानी समापनको अन्तिम दिन सोमबार विधागत रुपमा विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भइरहेका छन्। बिहानदेखि फरक–फरक चार वटा सभाहलमा समानान्तर रुपमा चार वटा सत्र सञ्चालन भइरहेका हुन्। सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहेका छन्।
यतिबेला अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु उत्थानशीलता र लगानीका अवसरहरू, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेको लगानी बोर्डले जनाएको छ। त्यसपछिको सत्रमा दिगो लगानीका लागि हरित वित्तको उपयोग, पर्यटन क्षेत्रमा लगानी, निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावनाका विषयमा छलफल सत्र सञ्चालन हुनेछ।
यसैगरी अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन्। त्यसमा उत्पादनमा नवप्रवर्द्धन र वृद्धि, नेपालको स्टार्टअप वातावरण र व्यापार सहज, जीवन्त लगानीका लागि उत्कृष्ट मञ्च विषयमा छलफल हुनेछ। एग्री फुड प्रणाली परिवर्तनमा लगानी र उचित बजारीकरणका सम्बन्धमा साइड इभेन्ट सञ्चालन हुनेछ। सबै सत्रका छलफलपछि आज बेलुकी सम्मेलन समापन कार्यक्रम चलाइने लगानी बोर्डको सचिवालयले बताएको छ।







