सुन मूल्य प्रतितोला १ लाख ३४ नाघ्यो
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुन प्रतितोलामा १ हजारले वृद्धि भई हालसम्मकै उच्च मूल्य कायम भएको हो । बुधबार प्रतितोला १ लाख ३३ हजारमा कारोबार भएको छापावाल सुन आज १ हजारले बढेर १ लाख ३४ हजारमा किनबेच भइरहेको महासंघले जनाएको छ।
तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३५० मा कारोबार भएकामा आज १ लाख ३३ हजार ३५० बराबरमा किनबेच भइरहेको हो।
सुनको भाउ बढ्नुमा अमेरिकी डलर बलियो हुनुलाई पनि कारण मानिएको छ। डलर बलियो भएसँगै विश्व बजारमा सुनको मूल्यसमेत उकालो लागेको अर्थविद्हरु बताउँछन्।
विश्व बजारमा तय हुने सुनको मूल्यले नेपाली बजारमा पनि प्रभाव पर्ने गर्छ। बिहीबार चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १६५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १६ सय १० रुपैयाँ थियो।







