५० प्रतिशत हकप्रद निष्कासन गर्दै रिडी पावर
काठमाडौं–रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन १८ देखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो।
कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरका लागि कम्पनीले माघ २२ मा बुक क्लोज गरिसकेको छ।
माघ २१ सम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ८ सम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ।
कम्पनीको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्टको स्वामित्वमा रहने तल्लो बलेफी जलिविद्युत् आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ छ। हकप्रदपछि यस्तो पुँजी २ अर्ब ३२ करोड ३३ लाख पुग्नेछ।







