सहिद सप्ताह सुरु, शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण
काठमाडौं–विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदलाई सम्झिँदै आजदेखि सहिद सप्ताह सुरु भएको छ।
आजकै दिन शुक्रराज शास्त्रीलाई निरंकुश राणा शासकले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा झुन्डाएका थिए। सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्। तत्कालीन जहानियाँ राणा शासकले विसं १९९७ माघ १० मा शास्त्रीलाई पचलीस्थित रुखमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए।
माघ १३ मा सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ मा दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।
सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ मा सहिद दिवस मनाउने चलन छ।
शास्त्रीले राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुचि राख्थे। प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेका छन्।
उनीहरुको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृतिसभा गरिँदै आएको छ।







