सिद्धबाबा सुरुङमार्ग निर्माणमा नयाँ परामर्शदाता छानिए
काठमाडौं– सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा बन्न लागेको सिद्धबाबा सुरुङमार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट भएको छ । परामर्शदाता ईआरएमसी–योङमा डोङसुङ जेभीलाई जिम्मेवारी दिइएको हो ।
सकड विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले नयाँ परामर्शदाताको रुपमा ईआरएमसी–योङमा डोङसुङ जेभीलाई छानेको हो । केन्द्रका इन्जिनियर दीप वाराहीका अनुसार परामर्शदाताले ४० करोड ९१ लाख रुपैयाँ पाउनेछ ।
स्वीस कम्पनीको डीपीआर अनुसार सुरुङ मार्ग बनाउन ग्लोबल टेन्डर गरेर यसअघि नै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई छानिएको थियो । १.१२६ किलोमिटर लम्बाइको सुरुङ मार्ग ७ अर्ब ३४ करोड २१ लाख लागतमा निर्माण गर्ने सम्झौता २०७८ फागुनमा भएको हो ।
ठेकेदार कम्पनीले बर्खामास सकिएपछि सुरुङ खन्ने बताएको छ । उसले अहिले पूर्वतयारीका काम गरिरहेको छ । पूर्वतयारीस्वरुप रामापिथेकस पार्कनजिक डाइभर्सन निर्माण काम भइरहेको छ । ठेकेदार कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।







