बरामद सुन गालिँदै
काठमाडौं– राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरेको सुनसहितको १५५ किलो ‘ब्रेक सु’भित्रको सुन आज गालिन थालिएको छ ।राष्ट्र बैंकको टक्सार महाशाखामा सुनसहितको ‘ब्रेक सु’ राखिएको थियो। मोटरसाइकलको ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालिन लागेको हो ।
राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी भइरहेको माशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । सुन गाल्ने काम १०ः३० बजेबाट सुरु भइसकेको उनको भनाइ छ ।यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिनेछ। त्यसका लागि केही दिन लाग्ने आचार्यले बताए ।
त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिएको थियो ।
उक्त घटनामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।







