१५ प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति ,कती महिना आयात धन्न पुग्छ ?
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टले गत असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति १५.२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड पुगेको जनाएको हो ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ ।आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातका आधारमा मान्दा विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
गत फागुनसम्म अमेरिकी डलरमा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भएर १० अर्ब ६९ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २.० प्रतिशतले कमी आई रु.१५६ अर्ब २७ करोड कायम भएको छ ।







