लुम्बिनीमा दक्षिण कोरियाका २ सय भिक्षु
काठमाडौं। दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्किएका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन्। कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।
कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरू र तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले लुम्बिनीमा स्वागत गरेको छ।
कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ ।
कोरियाली बौद्ध भिक्षु-भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान लगायतले लुम्बिनीमा खादा ओढाएर स्वागत गरेका थिए।
लामो यात्रा गरेर लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य घिमिरेले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए। उनले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रूपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताए।







