अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
बिहीबार राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।
काठमाडौं– पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ ।बिहीबार राष्ट्र बैंकले तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १४ पैसा छ ।
केन्द्रीय बैंकले अधिल्लो दिन १ अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४८ पैंसा र बिक्री दर १३२ रुपैयाँ ८ पैसा तोकेको थियो ।त्यस्तै, बिहीबार युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ २४ पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।
नेपाली मुद्राको भारुसँग स्थिर विनिमय दर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मक पर्ने जानकार बताउँछन्
नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत असर पार्छ । त्यस्तै, डलरको भाउ बढ्नेबित्तिकै आयातीत वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने गर्छ ।