विदेश निर्यात हुन थाल्यो अर्घाखाँची सिमेन्ट
कम्पनीले भारततर्फ पहिलो लटमा १ हजार ४ सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो।
काठमाडौं– सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् ।
यसअघि तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । सोमबारदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यात थालनी गरेको हो ।
रुपन्देहीको मैनहियास्थित कारखानामा कार्यक्रम आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १ हजार ४ सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो ।कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगञ्जस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।
‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको ८ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ’, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले भने ।
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो’, उनले भने ।
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा उनले जोड दिए ।

सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्टको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।
कम्पनीले ओपिसी, पिपिसी र क्लिंकर निर्यातका लागि आइएसआई मार्क पाइसकेको छ । कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना बनाएको छ ।







