नेपालमा मागभन्दा बढी अन्डा उत्पादन, उपभोग न्यून
७ करोड बढी कुखुरा छन् भने त्यसमध्ये १ करोड ११ लाखले फुल पार्छन्। गत आवमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक
काठमाडौं– नेपालमा विविध कार्यक्रमसहित शुक्रबार विश्व अन्डा दिवस मनाइएको छ ।
सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबरको दोस्रो शुक्रबार विश्व अन्डा दिवस मनाइँदै आएको हो ।
यो वर्ष ‘उत्कृष्ट जीवनका लागि अन्डा’ मूल नारासहित विश्वभर दिवस मनाइएको छ। नेपालमा चितवनलगायत विभिन्न ठाउँमा कार्यक्रम गरी विश्व अन्डा दिवस मनाइएको अन्डा उत्पादक संघ अध्यक्ष शिवराम केसीले बताए ।
नेपालमा मागभन्दा बढी अन्डा उत्पादन हुने गरे पनि विश्वको तुलनामा उपयोग निकै कम रहेको उनको भनाइ छ । विश्व अन्डा आयोगको रिपोर्टअनुसार विश्वभरि प्रतिव्यक्ति प्रतिवर्ष औसत अन्डा खपत १७९ वटा छ तर नेपालमा ४४ वटा मात्र छ । अमेरिकामा वार्षिक प्रतिव्यक्ति अन्डाको उपभोग २५१ वटा छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७ करोड बढी कुखुरा छन् भने त्यसमध्ये १ करोड ११ लाखले फुल पार्छन् । गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक छ ।
एउटा अन्डाले ७० किलो क्यालोरी शक्ति, करिब ६.३ ग्राम उच्च गुणस्तरको प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, भिटामिन–ए, भिटामिन–बी–२, भिटामिन–बी–५, भिटामिन–बी–६, भिटामिन–बी–७, भिटामिन–बी–९, भिटामिन–बी–१२, भिटामिन–डी, भिटामिन–ई, भिटामिन–के, कोलिन; फस्फोरस, जिंक, सेलेनियम, फलाम, आयोडिन गरी विभिन्न प्रकारका आवश्यक भिटामिन र खनिज उपलब्ध गराउने संघका महासचिव प्रवीण केसीले बताए ।
अन्डामा पाइने समग्र प्रोटिनमध्ये करिब ३.६ ग्राम सेतो भागबाट र करिब २.७ ग्राम पहेलो भागबाट प्राप्त हुन्छ । मानिसलाई दैनिक आवश्यक पर्ने प्रोटिनको मात्राको १७ देखि २० प्रतिशत प्रोटिन एउटा अन्डाले पूर्ति गर्छ ।







