स्वास्थ्य बिमाबापत ६६ करोड ८१ लाख भुक्तानी
बिमाबापतको भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकी रहेको बोर्डको तथ्यांक
काठमाडौं– सरकारले पछिल्लो पटक स्वास्थ्य बिमाबापत ६६ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।स्वास्थ्य बिमा बोर्डका अनुसार गत १४ असोजको निर्णयअनुसार सरकारले २४ असोजमा विभिन्न स्वास्थ्य सेवाप्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फस्र्योट गरी बाँकी कुल ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी दिएको हो ।
यस्तो भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकी रहेका छन् ।यस्तो भुक्तानी यसै आर्थिक वर्षको गत २२ भदौमा ३३८ अस्पताल तथा स्वास्थ्य चौकीलाई सरकारले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७६८ रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ ।
योसहित चालू आर्थिक वर्षमा सरकारले स्वास्थ्य बिमाबापत कुल ३ अर्ब ३३ करोड ९३ लाख बढी भुक्तानी गरेको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता सरकारले २४ अर्ब रुपैयाँ बढी भुक्तानी गरिसकेको छ ।







