दसैंले बढायो पेट्रोलियम खपत
दसैं मनाउन घर उपत्यका छाड्नेहरू र हवाईजहाजबाट घर फर्किनेहरूको चाप बढेसँगै बढ्यो पेट्रोलियम खपत
काठमाडौं– नेपाल आयल निगमले दसैं चहलपलसँगै पेट्रोलियम पदार्थ खपत बढेको बताएको छ ।१ असोजदेखि सुरु भएको खपत बढोत्तरी हालसम्म निरन्तर रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धन बिक्री केही दिनयता बढिरहेको उनको भनाइ छ । उनले भने, ‘१ असोजयता सार्वजनिक बिदाका दिनबाहेक हाल कम्तीमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ ।’
डिजेल प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ । खाना पकाउने ग्यास पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले बताएको छ ।
दसैं मान्न हवाईजहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ । यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई इन्धन बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको छ ।
१ असोजदेखि ११ गतेसम्म २ करोड ८ लाख ३२ हजार लिटर, ३ करोड २८ लाख ६२ हजार लिटर डिजेल र ६३ लाख ९२ हजार लिटर हवाई इन्धन खपत भएको छ । यस्तै, १४ करोड ८२ लाख ७० हजार किलो खाना पकाउने ग्यास बिक्री भएको निगमको तथ्यांक छ ।







