दुई महिने वैदेशिक व्यापारमा घट्यो आयात–निर्यात
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो
काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०७९÷८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको तथ्यांक सार्वजनिक गरेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो ।यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ, जुन गत वर्षको तुलनामा १३ प्रतिशतले न्यून हो । गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो ।
यसैगरी चालू वर्षको भदौमा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्रतिशतले घटेको छ । गत वर्षको भदौसम्म ४४ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको थियो ।
नेपालको आयात र निर्यात दुवै सूचक घटेपछि कुल वैदेशिक व्यापारमा समेत गिरावट आएको छ । विभागका अनुसार यस अवधिमा नेपालको वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको हो । गत वर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको वैदेशिक व्यापार भएकामा यस वर्ष ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको व्यापार भएको छ ।
यस अवधिमा नेपालले विश्वका ११६ देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र खाद्यान्नलगायत वस्तु आयात भएको छ । यस्तै, नेपालबाट खानेतेल, ऊनी फेल्ट, चिया तथा कफीलगायतका वस्तु सबैभन्दा धेरै निर्यात भएका छन् ।







