डेंगुका कारण देशभर २९ जनाको मृत्यु
संक्रमितको संख्या २२ हजार बढी पुगेको स्वास्थ्य मन्त्रालयको विवरण
काठमाडौं– डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो । संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंका छन् ।
काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ ।तथ्यांकअनुसार काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० मा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार १० जिल्लामा मात्रै १९ हजार ७ सय २७ डेंगुबाट संक्रमित भएका छन् ।
प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, बागमतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगुबाट मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको छ । यसबाट २९ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।देशभर डेंगु संक्रमण बढेपछि महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणा गर्न सरकारलाई पत्राचार गरिसकेको छ ।







