उपभोक्ता ठगी नरोकिएपछि बढाइयो बजार अनुगमन
चाडवाड लागेसँगै बजारमा उपभोक्ता ठगिने क्रम बढेपछि विभागले १० अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको छ
काठमाडौं– वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले चाडवाड सुरु भएसँगै उपभोक्ता ठगी हुने क्रम बढेपछि बजार अनुगमन तीव्र बनाएको छ ।
विभागले बुधबार मध्यपुर थिमिस्थित एक डिपार्टमेन्ट स्टोरलाई २ लाख जरिमाना गरेको छ । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो ।
विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई २ लाख जरिमाना तिरायो। टोलीले मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको भन्दै ललितपुरकै लगनखेलस्थित एक औषधी पसललाई ५० हजार जरिमाना गरेको छ ।
पछिल्लो एक सातामा मात्रै विभागले २७२ फर्ममाथि अनुगमन गरेको छ । गत साउनदेखि हालसम्म ८४४ फर्मको अनुगमन गरी १७५ वटा फर्मलाई जरिमाना गरिएको विभागले बताएको छ ।जरिमानाबाट ३५ लाख ३१ हजार राजस्व उठेको छ । सोही अवधिमा २३ लाख ९९ हजार मूल्य बराबरका म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले ५ हजार जरिमाना गरेको छ ।
अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिई विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ । विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनि मार्ट, फार्मेसी, माछामासु, सुर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाई पसलमा अनुगमन गरेको थियो ।
विभागका निर्देशक हरि पंगेनी चाडवाड नजिकिँदै गर्दा उपभोग्य वस्तु खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र पारिएको बताउँछन्। बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ ।
विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा व्यापारीले बिलबिजक देखाउन नसक्ने, खरिद र बिक्री बिल नभएको, सरसफाइमा ध्यान नदिएकोलगायत अवस्था भेटिएको थियो । विभागले क्षेत्रगत विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको छ ।
सार्वजनिक बिदाका दिन पनि अनुगमनका लागि विभिन्न स्थानमा टोली खटिइएको निर्देशक पंगेनीले जानकारी दिए । बजारलाई व्यवस्थित बनाउन केही दिनअघि विभागले काठमाडौं महानगरसँग पनि छलफल गरेको छ ।
स्थानीय तहका उपप्रमुख बजार अनुमगन समितिको अध्यक्ष हुने व्यवस्था छ ।







