नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।
काठमाडौं– एसियाली विकास बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
एसियाली विकास बैंकले डेभलपमेन्ट आउटलुक प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर लक्ष्यअनुसार हासिल नहुने बताएको हो । राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीति, आयातमाथि लगाइएको प्रतिबन्ध, विदेशी विनिमय सञ्चितिमा आएको गिरावट र मुद्रास्फीति दबाबका कारण नेपालको आर्थिक वृद्धिदरमा संकुचन आउने प्रक्षेपण एडीबीले गरेको हो ।
आयातमा लगाइएको प्रतिबन्धले घरेलु उत्पादन र उपभोगमा असर पर्ने र आर्थिक वृद्धिलाई प्रतिकूल असर पार्ने बैंकले जनाएको छ ।
चालू आर्थिक वर्ष नेपालको मुद्रास्फीति ६.३ प्रतिशतबाट केही सामान्य अंकले घटेर ६.१ प्रतिशत कायम हुने बताइएको छ ।
स्थिर रेमिट्यान्स आप्रवाह र आयातमा भएको कमी चालु खाता घाटा यस आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनको ८.१ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरेको छ ।







