चाडपर्व लक्षित पसलमा घटाइयो तेल र दालको मूल्य
तेलमा १० र मसुरो दालमा ८ रुपैयाँ मूल्य घटाइएको हो।
काठमाडौं–खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं–तिहार र छठ पर्वलाई लक्षित गरेर खोलिएका पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।
दसैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री भएको गुनासोपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो ।
तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० र मुसुरो दाल ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन्। घटाइएको नयाँ मूल्य मंगलबारबाटै कार्यान्वनयनमा आइसकेको छ। अब सहुलियत पसलमा तोरीको तेल २७५, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २८५ र भटमासको तेल २४० रुपैयाँ पर्नेछ।
यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २९५, तोरी २८० र भटमासको तेल २४५ रुपैयाँमा बिक्री गरेको थियो। यस्तै, मुसुरो दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १४५ रुपैयाँ तोकिएको छ ।







