कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन स्वास्थ्य मन्त्रालयको पत्राचार
केही स्थानीय तहले प्रतिवेदन मन्त्रालयमा पठाए पनि केहीले अझसम्म नपठाएकाले मन्त्रालयले पुनः पत्राचार गरेको हो।
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोपको प्रतिवेदन पठाउन स्थानीय तहलाई आग्रह गरेको छ । केही स्थानीय तहले प्रतिवेदन मन्त्रालयमा पठाए पनि केहीले अझसम्म नपठाएकाले मन्त्रालयले पुनः पत्राचार गरेको हो ।
५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाइएको फाइजर पेडियाट्रिक खोपको प्रतिवेदनका लागि आग्रह गरेको हो । ७ जिल्लाका २९६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहबाट बालबालिकाको कोभिडविरुद्धको खोपको पहिलो मात्राको र १५९ वटा स्थानीय तहबाट दोस्रो मात्राको प्रतिवेदन प्रविष्ट नभएको भन्दै मन्त्रालयले प्रतिवेदन पठाउन आग्रह गरेको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय र सम्बन्धित जिल्लालाई पत्राचार गर्दै प्रतिवेदन पठाउन अनुरोध गरेको हो ।
इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा,पर्सा, महोत्तरी, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुराका स्थानीय तहले कोभिडविरुद्धको खोपको प्रतिवेदन नबुझाएको महाशाखाले बताएको छ ।







