वैदेशिक कारोबारको विस्तृत विवरण राख्न राष्ट्र बैंकको निर्देशन
वैदेशिक कारोबार रिपोर्टिङ प्रणाली निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकले गर्ने हरेक वैदेशिक कारोबारको विस्तृत विवरणसहितको अभिलेख राख्नुपर्ने
काठमाडौं– राष्ट्र बैंकले वैदेशिक कारोबारको विस्तृत विवरण राख्न र यस्तो तथ्यांक उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
२०८० साउनदेखि वैदेशिक कारोबार रिपोर्टिङ प्रणाली निर्देशिका पूर्ण रूपमा सञ्चालन आउनेछ। सो अवधिसम्म शोधनान्तर तथ्यांक संकलन निर्देशिका, २०६१ आधारमा यस्तो विवरण राख्न र तथ्यांक उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
वैदेशिक कारोबार रिपोर्टिङ प्रणाली निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकले गर्ने हरेक वैदेशिक कारोबारको विस्तृत विवरणसहित जानकारी संकलन र अभिलेख राख्नुपर्नेछ । यस्तो कारोबारको पुष्टि हुने आवश्यक कागजातसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले यो प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको स्थलगत निरीक्षणसमेत गर्न सकिने बताएको छ । बैंक तथा वित्तीय संस्थाले हरेक महिनामा यस्तो तथ्यांक उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।







