काभ्रे प्रशासनमा ३० बढी मिटरब्याजीविरुद्ध उजुरी
काभ्रे– जिल्ला प्रशासन कार्यालय काभ्रेमा ३० बढी मिटरब्याजीविरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले बताएको छ ।१७ व्यक्तिले ३० बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु थालिएको छ ।
सरकारले गत साउनमा ५ भदौभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक अपिल गरेको थियो ।
सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ । काभ्रेमा सरकारले उजुरी दिन आह्वान गर्नु अगावै केही मिटरब्याजीपीडितको भागाभाग भएको थियो ।
हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ ।
मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन् । मिटर ब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् ।
केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको छ ।







