१०५ औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित
काठमाडौं– १०५ औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशन भएको छ । सरकारले विभिन्न समय घोषणा भएका तर औद्योगिक व्यवसाय ऐनअन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको हो ।
प्रकाशित औद्योगिक ग्राममध्ये मुगु राराको औद्योगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सिर्जना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित २०७५ को बजेटमा यस्तो घोषणा गरिएको थियो ।
घोषित औद्योगिक ग्रामलाई तीन तहको सरकारले लगानी गर्ने मोडालिटीको आयोजनामा संघीय सरकारले बढीमा ३ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
हालसम्म १०४ स्थानीय तहले औद्योगिक ग्राम बनाउन रकम लगे पनि हालसम्म कुनै पनि औद्योगिक ग्राम बनेका छैनन् ।







