भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं– नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्कमा ५० प्रतिशत छुट दिइने घोषणा गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनपछि शुक्रबारबाटै कार्यान्वयन गर्न पत्र पठाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजना, २०७९ अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षालगायतका शुल्कमा दिइएको शतप्रतिशत छुटलाई निरन्तरता दिइनेछ ।
त्यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिइने व्यवस्था छ ।सोहीअनुरूप विमानस्थल सेवाशुल्क नियमावली २०७८ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्कमा ५० प्रतिशत छुट हुने प्राधिकरणले बताएको छ ।
यो निर्णय कार्यान्वयन गर्न बिहीबारै नेपाल वायुसेवा निगमलाई पत्र पठाइएको प्राधिकरणका सूचना अधिकारी भुलको भनाइ छ ।







