नेपाली चियाको आफ्नै ब्रान्ड
नेपाली चिया विश्व बजारमा नेपाली ट्रेडमार्कमा बिक्री हुने भएको छ ।
चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आप्mनो चिया निर्यात गर्दै आइरहेको थियो । तर, आप्mनै टे«डमार्क नहुँदा विभिन्न देशमा भारतको ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो ।
नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले इलामको फिक्कलमा कार्यक्रम गरी नेपाली चियाको ट्रेडमार्कको घोषणा गरेका हुन् ।
नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न कृषिमन्त्री भुसालले इजाजत प्रदान गरेका हुन् ।
ट्रेडमाकका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन दिएका थिए । तर, पहिलो चरणमा १२ वटा उद्योगले मात्र सो ट्रेडमार्क पाएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारीअनुसार इलामको हिमालयन सांग्रिला टी प्रोडयुसर्स, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, जस्बिर टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एन्ड स्पेसियालिटी, ओएसीस टी इन्डस्ट्रिज, तारागाउँ टी स्टेटलगायतले ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका छन् ।
कृषिमन्त्री भुसालले ट्रेडमार्क कार्यान्वयनमा आएसँगै यसको गरिमा कायम राख्न सबै चिया कृषक, संकलनकर्ता, उद्योग, ढुवानीकर्ता, प्याकेजर, उपभोक्ता एवं सम्बद्ध सबैले भूमिका खेल्न जरुरी रहेको बताए ।
चिया क्षेत्रको एउटा प्रमुख समस्या समाधान भएको बताउँदै उनले नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारीकरणमा समस्या नआउने दाबी गरे ।
एक दशकदेखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएकामा खुसी व्यक्त गर्दै मन्त्री भुसालले बोर्डले दिएको प्रतिवेदनअनुसार १२ वटा उद्योगले अनुमति पाएको बताए । नेपालको उत्पादित चिया विश्वमै अब्बल र गुणस्तर रहेको उल्लेख गर्दै उनले स्वच्छ हावापानी पाएर उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीको मन जितेको दाबी गरे ।
‘यति हुँदाहुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको थिएन,’ उनले भने, ‘हामीलाई थाहा छ, नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेस्रो देशमा लामो समयदेखि बिक्री भइरहेको थियो । यसलाई रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरुरी थियो ।’
नेपालमा चिया खेती सुरु भएको १५७ वर्ष भएको छ । वि.सं.१९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जंगबहादुरका ज्वाइँ गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर सुरु भएको चिया खेती यहाँसम्म आइपुगेको छ ।
यति मात्रै हैन, देशको व्यापार घाटा ११ खर्ब पुगेका बेला भारतलगायत तेस्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्र उकास्न चियाको राम्रो भूमिका हुने मन्त्री भुसालको दाबी छ ।
‘नेपाल टी क्वालिटी फर्म द हिमालयाज’ नामको ट्रेडमार्क उद्योग विभागमा ०७२ असार २२ मै दर्ता भएको थियो । तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केही कानुनी तथा प्राविधिक कठिनाइ थियो ।
ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य शृंखलामा क्रियाशील सबैका लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो ।







