नदीजन्य पदार्थ उत्खननले दुई तहबीच विवाद
कै खोलिएको क्रसर उद्योग।
जिससले एकलाैटी गरेको भन्दै स्थानीय तह विरोधमा
बुटवल : नदीजन्य पदार्थ उत्खननको विषयमा दुई तहबीच विवाद उत्पन्न भएको छ। जिल्ला समन्वय समिति रूपन्देही र स्थानीय तहबीच अधिकारको विषयलाई लिएर विवाद भएको हो।
रूपन्देहीको तिनाउ नदीबाट विकासे आयोजनाका लागि जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकाल्ने अनुमति दिएपछि दुई तहको विवाद सतहमै आएको छ। सियारी गाउँपालिकाको अमुवा घाटबाट करिब सात लाख घनमिटर नदीजन्य पदार्थ जिससले निकाल्ने स्वीकृति दिएपपछि गाउँपालिकाले त्यसको विरोध गर्दै अवरोधसमेत गरेको हो।
रूपन्देहीका प्रायः स्थानीय तहसँग समन्वय समितिको विवाद देखिएको छ। ‘हाम्रो अधिकार क्षेत्रमा जिल्ला समन्वय समितिले हैकम चलायो, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले भने, ‘हामीलाई थाहै नदिई गाउँपालिकाको बगरमा धमाधम भ्याकु चलाइयो। यो हैकमवासी सोच हो।’
समन्वय समितिले बेलबास-बेथरी सडक निर्माणका लागि भन्दै पुस २६ गते अमुवाघाटबाट नदीजन्य पदार्थ निकाल्न स्वीकृति दिएको छ। पुस २७ गते गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न नदिए पनि जिससले प्रशासनको साथ लिएर काम निरन्तर जारी राखेको छ।
पछिल्लो समय उत्खनन गरिएबाट प्राप्त हुने राजस्व कुन तहले पाउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। रूपन्देहीमा विकास आयोजना बाहेकलाई नदीजन्य पदार्थ उत्खनन गर्न दिइएको छैन। स्थानीयले नदीजन्य पदार्थ उत्खननमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्।
सियारी गाउँपालिकाका अध्यक्ष थारूले नै जिससबाट ‘लिगल पेपर’ बनाएर अवैध काम भइरहेकोे दाबी गरे। ‘हामीले गाउँपालिकाका सडकका खाडल पुर्न ढुंगा-गिटी नपाउने। ठेकेदारका लागि रातारात निर्णय हुने ? ‘ उनले प्रश्न गरे। सियारीले स्थानीय सडक निर्माणका लागि पाँच लाख ७४ घनमिटर नदीजन्य पदार्थ माग गर्दै जिससलाई रोयल्टी बुझाए पनि एक महिनादिनदेखि नपाएको उनले बताए।
समन्वय समितिले अन्य निकायसँग पनि समन्वय नगरी एकलौटी स्वीकृति दिने गरेको आरोप छ। तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आयोजनाका नाममा आफूहरूसँग समन्वय नगरी नदी उत्खनन गरिएको भन्दै आपत्ति जनाए।
‘जिविसले समन्वयकारी भूमिका खेल्न सकेन, यसले विवाद उत्पन्न भएको छ,’ उनले भने। स्थानीय तहले आफ्ना योजना निर्माणमा नदीजन्य पदार्थ पाउन नसकेको उनले बताए।
रूपन्देहीको तिनाउ, दानव, रोहिणी, कञ्चन नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन गरिने गरिन्छ। समन्वय समितिले गौतमबुद्ध विमानस्थल, ६ लेन सडक, बेलबास बेथरीलगायत ठूला आयोजनाका नाममा उत्खनन गर्ने स्वीकृति दिएको छ। तर यस विषयमा स्थानीय तह भने बेखबर छन्।
जिससले स्थानीय तहसँग समन्वय नगरी नदीजन्य पदार्थ निकाल्न दिँदा चोरी निकासी बढेको भन्दै त्यसलाई रोक्न नसकिएको सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले बताइन्।
जिल्ला समन्वय समितिका प्रमुख एकराज विक भने यस विषयमा कुराकानी गर्न सम्पर्कमै आउन चाहेनन्। समन्वय समितिसँग केही समयअघि आपसी समझदारीमा उत्खननको स्वीकृति दिने स्थानीय तहले सहमति गरेका थिए। त्यसलाई बेवास्ता गर्दै समन्वय कार्यालयले उत्खननको स्वीकृति दिएको छ। पुस महिनामा मात्रै ६ लेनको सडक र बेलबास-बेथरी सडकलाई उत्खननको स्वीकृति दिइएको छ।
बाढीले बगाएको जमिनमा वातावरणीय मूल्यांकन गरी जिससले नदीजन्य पदार्थ उत्खननका लागि स्वीकृति दिएको छ। हाल उत्खनन भइरहेको क्षेत्रमा जग्गाधनी पूर्जा रहेको र २४ वटा कित्ताबाट उत्खनन भएको स्थानीय झपेन्द्र अर्यालले बताए।
‘निजी जग्गालमा वातवरणीय मूल्यांकन गरेर उत्खनन भएको छ,’ अर्यालले भने, ‘जिससले नरोके अदालतको सहयोग लिन्छौं।’ उनीहरूले गाउँपालिकालाई उत्खनन गर्न दिइए पनि बाहिर लैजान नदिने बताए।
हाल उत्खनन भइरहेको क्षेत्र शवदाह गर्ने स्थान भएकाले स्थानीयले विरोध गरेका छन्। जिससले सडक तथा पुलको नजिकबाट उत्खनन गर्न दिएको भन्दै स्थानीयले चर्को विरोध रहेका छन्।
source : annapurna post








