अर्थ बाणिज्य / समाज Sunday, 26 Nov, 2017
Prestige Media

सरकारी सहयोगबिनै सिंगो गाउँमा तरकारी खेती l

मंसिर १०, २०७४-पूरा गाउँवासी तरकारी खेती गर्छन्, त्यो पनि कुनै सरकारी वा गैरसरकारी संस्थाको सहयोगबिनै । सुन्दा अचम्म लाग्नु स्वाभाविकै हो तर मोरङको दक्षिणपूर्वी सीमावर्ती भेकमा पर्ने जहदा गाउँपालिका पुग्दा तरकारी खेती नगर्ने कोही भेटिन्न ।

होस सम्हालेदेखि तरकारी खेती गर्न थालेको जहदा ४ का ६० वर्षीय रामनन्दन सिंहले बताए । उनले पाँच कठ्ठा जग्गामा काउली, भान्टा, बन्दा, मटर एवं गोलभेंडाबाट सुरुआत गरेका थिए । तरकारीको कमाइले थप ३५ कठ्ठा जग्गा जोरेको उनले बताए । 

खेती थालेदेखि अहिलेसम्म सरकार वा अन्य कुनै निकायको सहयोग नरहेको सिंहले बताए । उनले पाँच कठ्ठामा वर्षभरि तरकारी खेती र बाँकीमा धान, गहुँ एवं मकै लगाउँछन् । घरायसी आवश्यकताअनुरूप अन्नबाली लगाए पनि तरकारीबाटै बढी फाइदा हुने गरेको सिंहले बताए । ‘३५ कठ्ठामा लगाएको अन्नबाली बराबरको नाफा ५ कठ्ठामा लगाएको तरकारीले दिन्छ,’ उनले भने । 

मल, बिउ, मजदुर र सिँचाइलगायत प्रतिकठ्ठा ५ हजार रुपैयाँ तरकारी खेती सम्पन्न हुने गरेको उनले जानकारी दिए । प्रतिकठ्ठा चार श्रमिक लाग्ने हुनाले स्थानीय विपन्नलाई रोजगारीका लागि अन्यत्र जानु पर्दैन । 

सात सदस्यीय परिवारलाई वर्षभरि मजाले पालेर कम्तीमा प्रति कठ्ठा ३ हजार रुपैयाँ बचत हुने गरेको सिंहले जनाए । वर्षभरि कम्तीमा दुई बाली तरकारी लगाउने गरेको यो किसान परिवारले प्रतिमहिनामा औसत २० क्विन्टल उत्पादन गर्छन् । 

उल्लेखनीय के छ भने यो गाउँमा सिँचाइका लागि नहर भए पनि त्यसमा समयमा कहिल्यै पानी आउँदैन । नजिकैको लोहन्द्रा खोलाबाट पम्पिङसेट लगाएर तान्दा खर्च बढी हुने गरेको स्थानीयले बताए । ‘गुनासो गर्दागर्दै थाके पनि कतै सुनुवाइ भएन,’ अर्का कृषक ३० वर्षीय प्रमेश्वर सिंहले भने, ‘सरकारी कार्यालयको चक्कर लगाएर समय खेर फाल्नुभन्दा आफूसँग भएको स्रोतसाधनमै भर परेका छौं ।’ 

सिंहले एक बिघामा मौसमी तरकारी र तीन बिघामा अन्नबाली लगाउँछन् । उनको १० जनाको परिवार पूरै खेतीमै निर्भर छ । ४० हजार रुपैयाँ खर्चेर एक बिघामा तरकारी लगाउँदा सबै खाले खर्च काटेर वार्षिक कम्तीमा ६० हजार रुपैयाँ चोखो बच्ने गरेको उनले बताए ।
तीन महिनाअघिको बाढीमा ५ कठ्ठा जग्गामा लगाएको भिन्डी सखाप भए पनि सिंह परिवारले हरेस खाएनन् । ‘२० हजार रुपैयाँ खचेर लगाएको थिएँ, पानीमा सबै बर्बाद पारेछ,’ उनले भने । सप्रेको भए त कम्तीमा २० क्विन्टल उत्पादन हुन्थ्यो । ‘थोरैमा पनि २० हजार नाफा हुन्थ्यो,’ सिंहले भने, ‘कहिले नाफा र कहिले नोक्सान त भइहाल्छ, अहिले फेरि सागपात लगाएको छु ।’ यो गाउँको ताजा सागपात सदरमुकाम विराटनगरदेखि विहार एवं पूर्वाञ्चलका मुख्य बजारहरूसम्म पुग्छ । 

आवागमनका लागि राम्रो सडक एवं स्थानीय खोलामा पुल नभएको विषम परिस्थितिमा समेत उनीहरूले मौसमी तरकारी खेती गरेर सुखी जीवन बिताइरहेका छन् । बाढी र खडेरीलाई समेत चुनौती दिंदै खेती गर्ने स्थानीय किसानले तरकारीको बेचबिखनसमेत आफैं गर्छन् । ‘परिवार मिलेर भण्डारण, ढुवानी एव बेचबिखन गर्छौं, सीधा बजारमा पुग्दा हामी र ग्राहक दुवैलाई फाइदा हुन्छ,’ सिंहले भने, ‘अत्यधिक उत्पादन भएको बेलामा मात्र बिचौलियाको खोजी गर्छौं ।’ 

झन्डै ४१ हजार ८ सय १९ जनसंख्या भएको यो गाउँका हरेक परिवारका पुराना एवं नयाँ पुस्ता मिलेर खेती गर्छन् । सिंह एवं मण्डल थर लेख्ने कोइरी र गनगाई जातिबाहेक यो गाउँका बंगाली, यादव तथा मलाहालगायतले यसको खेती गर्छन् । मधेसी, जनजाति एवं आदिवासी समुदायको बसोबास रहेको यो गाउँका ९८ प्रतिशत जनताले तरकारी खेती गर्छन् । ‘नगर्ने कोही छैन, अन्य पेसामा लागेका २ प्रतिशत परिवार पनि खानलाई भए पनि तरकारी अवश्य लगाउँछन्,’ स्थानीय मोहन महतोले भने । 

कुनै बेला ज्याला मजदुरी गर्ने एवं भारतबाट तरकारी ल्याएर बेच्ने केही स्थानीयसमेत अहिले सफल किसान भइसकेका छन् । वरिपरिको गाउँ र सहरबजारमा मात्र नभएर सीमावर्ती भारतसम्म उनीहरूको ताजा तरकारी पुग्छ ।
स्थानीय ४५ वर्षीय विजय सिंह र उनको पत्नी ४० वर्षीया गीतादेवी यस्तै एक उदाहरणीय किसान हुन् । उनीहरूले झन्डै २० वर्षसम्म ज्याला मजदुरी गरे । भारत विहारको फारबिसगन्जबाट तरकारी ल्याई स्थानीय हाटबजारमा बेचे । एक दशकअघि सिंह दम्पतीले आफ्नै गाउँमा तरकारी उमार्ने अठोट गरे । 

बचत गरेको २ लाख ५० हजार रुपैयाँमा अढाई कठ्ठा जग्गा किनी तरकारी लगाउन सुरु गरेपछि उनीहरूले पछि फर्केर हेर्नुपरेन । उनीहरूले तरकारीकै कमाइले चार वर्षअघि ५ लाख रुपैयाँ जग्गामा थप ५ कठ्ठा जग्गा किने । यही तरकारी खेतीको भरमा उनीहरूले ६ छोराछोरीको भविष्य बनाइरहेका छन् । उनीहरू स्थानीय विद्यालयमा पढ्छन् । 

उनीहरू चार कठ्ठामा बोरी र करेलालगायतका तरकारी तथा बाँकी साढे तीन कठ्ठामा अन्नबाली लगाउँछन् । यसपालिको बाढीमा धानबाली र तरकारी खतम भयो । ‘दुई लाख रुपैयाँ ऋण लिएर खेती गरेको थिएँ, पुन: ऋण लिएर खेती गरेको छु,’ किसान गीतादेवीले भनिन्, ‘अरू वर्ष एक लाख नाफा हुन्थ्यो, यसपटक बरोबरी हुनेभयो ।’ 

दु:खद के छ भने उनीहरूले स्थानीय सहकारीहरूबाट २४ प्रतिशत ब्याजमा ऋण लिन्छन् । किसानले ६ प्रतिशत सहुलियत ब्याजमा बैंकहरूबाट ऋण/अनुदान पाउने सरकारले भने पनि स्थानीय साना किसानले पाएको देखिन्न । 

‘कृषि विकास बैंक एवं अन्य बैंकमा जाँदा दिन मान्दैनन्,’ ३५ वर्षीय कृषक कृष्णप्रसाद सिंहले भने, ‘बजेट छैन भन्दै फर्काउँछन् ।’ किसानको तर्फबाट थप ४ प्रतिशत ब्याज बैंकलाई आफूले तिर्ने सरकारले भनेको छ । सिंहका अनुसार बैंकहरूले बजार क्षेत्रमा व्यवसाय र जागिर गर्नेलाई ऋण दिन्छन् । उनीहरूले गाउँमा लगानी गर्न सकिन्न भन्ने जवाफ दिएर फर्काउने गरेको उनले बताए । 

खेतमा पानी पटाउनलाई मिटरका लागि विद्युत् प्राधिकरण धाए पनि कृषि कार्यालयको सिफारिसदेखि विभिन्न खाले अप्ठेरो प्रक्रिया पूरा गर्नुपर्ने हुनाले पाउन नसकेको उनले बताए । ६ सदस्यीय सिंह परिवारले १४ कठ्ठा जग्गामा तरकारी र ११ कठ्ठामा अन्न बाली लगाउँछन् । तरकारी खेती गर्नुअघि उनी पनि ज्याला मजदूरी गर्थे । उनी एक दसकभित्र आफ्नै पौरखले सवा विघा खेतको मालिक बनेका छन् । 

यो परिवारले बर्सेनि दुई लाख रुपैयाँ लगानीमा सिमी, मुला, बोरी, घिरौंला, झिंग्ली, भिन्डी, लौका खुर्सानी र सागपातलगायतका तरकारी रोप्छन् । ‘जग्गा खाली नराखी वर्षभरि लगाउँछौं, वर्षभरि फलाउँछौं,’ सिंहले भने, ‘दैनिक दुई क्विन्टल तरकारी टिप्छौं ।’ बाढीले क्षति नपुर्‍याएको भए यस वर्ष पनि आरामले तीन लाख रुपैयाँ नाफा हुने उनले बताए । 

डेढ लाख रुपैयाँ ऋण काढेर लगाएको तरकारीलाई बाढीले नोक्सानी पुर्‍याएपछि थप एक लाख रुपैयाँ ऋण लिएको सिंहले बताए । ‘यसपटक मुस्किलले १ लाख रुपैयाँ बच्ला, यस्तो अवस्थामा खुसी नै हुनुपर्‍यो,’ सिंहले भने । उक्त गाउँपालिकाको पूर्वमा मोरङकै धनपालथान गाउँपालिका र भारत, पश्चिममा विराटनगर, उत्तरमा कटहरी गाउँपालिका र दक्षिणमा भारत छ । 

तरकारी खेती गर्दै हुर्केका स्थानीय एवं वरिपरिका क्षेत्रका युवायुवती कृषि विषय पढेर थप ज्ञान एवं दक्षता हासिल गरिरहेका छन् । उक्त गाउँपालिकाको माझमास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा स्थानीय किसानपुत्री २२ वर्षीया ममताकुमारी राजवंशीले तीनवर्षे कृषि डिप्लोमा (आईएससीएजी) दोस्रो वर्षमा पढिरहेकी छन् । 

‘परिवारजनलाई गरेको देखेर सानैदेखि तरकारी खेतीमा रुचि बढ्यो,’ उनले भनिन्, ‘पढेर जागिर नपाए पनि आधुनिक ढंगले खेती गर्न सक्छु ।’ यो छ सदस्यीय राजवंशी परिवार ५ कठ्ठामा तरकारी खेती गर्छन् । ‘चार हजार रुपैयाँ लगानी गरेर तरकारी लगाउँदा वर्षभरि आफूलाई मजाले खान त पुग्छ नै, बेचेर राम्रै आम्दानी हुन्छ,’ उनले भन्नि । छोरीले अध्ययन, खेती र घरको काम एकसाथ गरिरहेको देखेर पिता बुद्धिलाल राजवंशी पनि मख्ख छन् । यो विषय पढ्नेले बैंक तथा वितीय संस्थामा व्यावसायिक परामर्शदाताको रूपमा समेत काम गर्न पाउँछन् । 

उक्त प्राविधिक कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारीले स्वरोजगार र रोजगारको सम्भावनाको हिसाबले स्थानीय एवं वरपरका अन्य ग्रामीण क्षेत्रका युवा वर्गमा कृषि विषयप्रति आकर्षण बढिरहेको बताए । आयुर्वेद, नर्सिङ र अन्य विविध विषय पढाइने उक्त कलेजमा २०६०देखि १८ महिने जुनियर टेक्निकल असिस्टेन्ट (जेटीए) र २०७० देखि तीनवर्षे आईएससीएजीको अध्ययन सुरु भएको हो । ती दुवै पाठ्यक्रममा बर्सेपन ४०/४० जना विद्यार्थी भर्ना लिइन्छ । प्रिन्सिपल अधिकारीहरूका अनुसार कृषि विषय पढ्नेमा २५ प्रतिशत जहदा एवं छेउछाउका गाउँको र ७५ प्रतिशत पूर्वाञ्चलकै ग्रामीण क्षेत्रका विद्यार्थी हुन्छन् । ‘छात्र र छात्राको संख्या बरोबरी छ,’ उनले भने । जेटीए पढ्नेको जागिरका साथै कृषिकर्ममै रुचि देखियो । 

मोरङमा सबै जना नै तरकारी एवं अन्न खेतीमा लागेको सम्भवत: यो नै पहिलो गाउँपालिका हुनुपर्ने प्रिन्सिपल अधिकारीले बताए । तर किसान हितमा आएका ठूला आयोजना बढी धनी वा पहुँचवालामा केन्द्रित हुँदा स्थानीय साना किसान पौरखले मात्र बाँचेको उनले बताए । ‘सरकारको अनुगमन संयन्त्र पनि बलियो छैन,’ अधिकारीले भने ।

 

कान्तिपुरमा खबर छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL