८८ केजी सुन प्रकरण : मालिक फरार, चालक थुनामा
काठमाडौं : राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद भएको दुई महिनापछि काठमाडौं जिल्ला अदालतले तीन गाडी चालकसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । तीन जना सुन व्यवसायी धरौटीमा रिहा भएका छन् भने सुनका मालिक चिनियाँ नागरिक फरार छन्।
जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले चालक मनोज अधिकारी, दम्बा सान्डु तामाङ र दिलीप खड्कासहित सुन व्यवसायी उल्हास दिनकर सालुङगे र नन्दकुमारलाई थुनामा पठाएको हो । उक्त सुनका मालिक चिनियाँ नागरिक पान विई मिङ र यान वेङविङ दम्पती भने फरार छन् ।ठमेलस्थित होटल वनका सञ्चालक चिनियाँ नागरिक विई मिङका निजी ड्राइभर अधिकारीले चलाएको बा.१७च ६४२७ नं. को टाटा सफारी गाडीमा भदौ १९ गते ८८ केजी सुन बरामद भएको थियो ।
अधिकारीले चलाएको गाडीबाट सुन बरामद भएको जनाउँदै अदालतले उनलाई थुनामा पठाएको हो । त्यस्तै, तामाङले रसुवागढी नाकामा नेपालबाट चीनतर्फ पार गराएको र खड्काले भदौ १८ गते बिहान चीनबाट सीमा पार गरी नेपाल ल्याएको पाइएको छ । रसुवागढी नाकामा गाडी वारपार गराउनमा संलग्न रहेका चालकद्वय तामाङ र खड्काले गाडीभित्र अवैध रूपमा ८८ केजी सुन भएकोबारे आफू अनभिज्ञ भएको अदालतमा बयान दिएका थिए । थुनामा परेका सालुङगे काठमाडौं ओटुस्थित सिद्धनाथ सुनचाँदी खार्नी पसलका सञ्चालक र नन्दकुमार इन्द्रचोकस्थित पशुपति सुनचाँदी खार्नी पसलका सञ्चालक हुन् ।
तीन गाडी चालकसहित पाँच जना थुनामा पठाइएका छन्, तीन सुन व्यवसायी धरौटीमा रिहा भएका छन् भने सुनका मालिक चिनियाँ नागरिक फरार छन् ।
अन्य तीन जना सुन व्यवसायीलाई भने धरौटीमा छाडिएको छ । रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल सञ्चालक गणेशदत्त बडू, बांगेमुढास्थित शाक्य सुनचाँदी पसलका सञ्चालक शुभरत्न शाक्यलाई पाँच लाख धरौटी माग गरिएको छ । नरदेवीमा रविस्या टेडर्स सञ्चालक सत्यनारायण अग्रवाललाई दुई लाख धरौटी माग गरिएको छ । मानबहादुर तामाङसँग पनि पाँच लाख धरौटी माग गरिएको छ । धरौटी बुझाउन नसकेपछि उनी पनि थुनामा पुगेका छन् । लाक्पा ग्याल्जेन भने साधारण तारेखमा रिहा भएका छन् ।
कांग्रेसबाट रसुवाको प्रदेश सभा ‘ख’ बाट समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस भएका मानबहादुर तामाङ धरौटी बुझाउन नसक्दा थुनामा परेका छन् । सुन ल्याउने क्रममा भूमिका खेलेको आरोपमा प्रहरीले उनीविरुद्ध संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो । मुद्दाका अर्का प्रतिवादी ल्हाक्पा ग्याल्जेन भने साधारण तारेखमा रिहा भएका छन् ।
अन्नपूर्ण मा खबर छ ।








