नेप्सेमा उच्च अंकको गिरावट
आइतबार नेप्से परिसूचक ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सान्भि इनर्जीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।







