दसैंको तेस्रो दिन, चन्द्रघन्टा देवीको पूजाआराधना गरिँदै
चन्द्रघन्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौं– बडा दसैंको तेस्रो दिन बुधबार भगवती चन्द्रघन्टाको पूजाआराधना गरी मनाइँदै छ । चन्द्रघन्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
मंगलबार काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
नवरात्रको तेस्रो दिन महामायाको तेस्रो स्वरुप भगवती चन्द्रघन्टा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ । अर्धचन्द्र भएकी माता चन्द्रघन्टाको स्मरणद्वारा सांसारिक सुखभोगको इच्छा पूर्ण भई जीवनबाट मुक्ति मिल्ने विश्वास छ ।१० भुजाले युक्त सिंहवाहिनी चन्द्रघन्टा देवी पीत वर्णले आभासित हुनुहुन्छ । यिनको स्मरणले इच्छा र आशाको द्वन्द्वबाट छुटकारा मिल्छ ।
उपासकमा शान्तभावको पालना गरी निरन्तर पूजन, ध्यान र चिन्तन गर्नु आवश्यक छ । नवरात्रको यस दिनमा करुणामूर्ति देवीको आराधना गर्ने प्रचलन अत्यन्त सारगर्भित छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान मणिपुर चक्रमा केन्द्रित हुन्छ ।नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।







