वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई बाँडियो आर्थिक सहायता
काठमाडौं– वैदेशिक रोजगार बोर्डले विगत चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायतास्वरुप २ अर्ब ४१ करोड रुपैयाँ बढी उपलब्ध गराइएको जनाएको छ ।बोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता वितरण गरिएको हो ।
चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४,१५४ जनाको परिवारलाई २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको बोर्डको तथ्यांक छ ।
बोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार खर्च भएको छ। विदेशमा मृत्यु भएका नेपालीको शव आफन्तको घरसम्म लैजाने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको बोर्डको तथ्यांक छ ।उक्त अवधिमा ४,०४१ पुरुष र ११३ नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएको थियो । विगत चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ नेपालीको शव उद्धार गरी ल्याइएको बोर्डको विवरणमा उल्लेख छ । उद्धार गरी ल्याइएको शवमध्ये ५३३ पुरुष र २२ जना महिलाका थिए ।
बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भीर बिरामी भएकालाई विगत चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ । क्षतिपूर्ति पाउनेमा ९२७ पुरुष र ४९ महिला गरी ९६७ जना छन् ।वैदेशिक रोजगारीमा गएकाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार खर्च भएको बोर्डले जनाएको छ ।
यस्तै, वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८,९०१ छोराछोरीलाई छात्रवृत्ति सहयोगबापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ दिइएको छ ।







