बालुवाटारे सहमति बिथोलिएपछि धुम्बाराहीमा रुवाबासी
गोकुल अर्याल
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले सचिवालय बैठक राख्ने नसकिने अडान लिएपछि नेकपाभित्रको झगडा आगो सल्किएझैं फैलिँदो छ ।
गत २२ कात्तिकमा नेकपाका ५ सचिवालय सदस्यले बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाए पनि ओली तयार नभएका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालयका ५ नेताको अनौपचारिक बैठकमा कसरी अघि बढ्ने भन्नेबारे सामान्य छलफल भएको छ । तर, बैठक बोलाउन ओलीको ‘ग्रीन सिग्नल’ नआएसम्म मौनतामै रोकिइरहने मनस्थितिमा देखिएका छन् ।
सचिवालयका बहुमत सदस्य बैठकको पक्षमा हुँदाहुँदै पनि प्रचण्डलगायतका नेताहरु बैठक बोलाउन निरीह बनेका हुन् ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको बताउँदै आफूहरु अझै पनि सहमतिकै पक्षमा रहेको जनाउ दिए ।
श्रेष्ठका अनुसार ५ नेता बैठकअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटका क्रममा २७ कात्तिकमा बैठक बोलाउन प्रचण्डले आग्रह गरे पनि ओलीले बोलाउँदिनँ, जे गर्ने भए पनि गर्नू भनेर जवाफ दिएका थिए ।
ओलीबाट ‘गोली’ खाएपछि बसेको पाँच नेताको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले ओलीले अझै बैठक बोलाउन आनाकानी गरे पनि पार्टीभित्रको समस्या समाधानका लागि बैठकको विकल्प नभएको बताएका थिए ।
‘सचिवालयका ५ सदस्यले २२ कात्तिकमा अध्यक्ष ओलीलाई भेटेर लिखित रुपमै सचिवालयको बैठक बोलाउन आग्रह गर्नुका साथै त्यसमा सहमति जनाउन अनुरोध गरेको थियो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘हिजोसम्म हामीले बैठक बस्ने अपेक्षा गरे पनि बस्न सकेन । अझै पनि बस्नेमा उहाँले सहमति दिनुभएको छैन । आज कार्यकारी अध्यक्ष प्रचण्डले फेरि ओलीलाई भेटेर यसबारे छलफल भएको छ । बैठक बस्नुबाहेक अर्को विकल्प छैन । प्रचण्डले बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्नुभयो ।
ओलीले बुधबार काठमाडौं बाहिर कार्यक्रम रहेको बताएको र २७ मा सचिवालय बैठक बस्नुपर्छ भन्दा पनि सहमति नजनाएको श्रेष्ठले बताए ।
श्रेष्ठले प्रचण्डको आग्रहअनुसार भोलिको कार्यक्रम सर्किएपछि ओलीले पर्सि बस्ने कुरामा सहमति जनाउने विश्वाससमेत व्यक्त गरे ।
वरिष्ठ नेता माधव कुमार नेपालले २७ कात्तिकमा सचिवालय बैठक बस्ने बताएका छन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सो बैठकमा ओली पनि सहभागी हुने दाबी गरे ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोशित बनेका बहुमत सचिवालय सदस्यहरू धुम्बारीमा भेला भएर ओलीलाई सत्तोसराप गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले नटेरको भन्दै आगो ओकलेका थिए ।







