कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु
काठमाडौं–कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेंसीस्थित त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
मृतकको सनाखत हुन बाँकी छ। उनले दुर्घटनामा ३० बढी घाइते भएका बताए। गौतमले घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिए।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्। उद्धार जारी छ। बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ। बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान भएको बस दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ। बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको बताइएको छ।