कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै
हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्था, श्रद्धा र प्रकृतिपूजासँग सम्बन्धित महान् पर्व छठ आज सूर्य भगवानको विधिपूर्वक पूजाआराधना गरी धुमधामका साथ मनाइँदै छ । विशेषगरी नेपाल तथा भारतका हिन्दु समुदायले नेपालीहरूको दोस्रो ठुलो चाड तिहार लगत्तै मनाउने यो चाड कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ । अहिंसा, परोपकार र सद्भावको सन्देश दिने यो पर्व मुख्यतया तराई तथा मधेसवासीहरूको महान् चाड भए पनि पछिल्लो समय हिमाल र पहाडी भेगमा बस्ने सम्पूर्ण नेपालीहरूले समेत यसलाई उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउन थालेका छन् ।
चार दिनसम्म अत्यन्त निष्ठाका साथ मनाइने यस पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुहरूले बिहानै स्नान गरी, हातगोडाका नङ काटेर घर सफा गर्दछन् र चोखो भात, दाल तथा लौकाको तरकारीलगायतका सात्त्विक भोजन ग्रहण गर्दछन् । पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ, जसमा व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर साँझपख पवित्र जलाशयमा स्नान गर्दछन् । त्यसपछि दूध, चामल र सख्खरबाट बनेको खीर (रसियाखीर) पकाएर प्रसादका रूपमा ग्रहण गरी मुख्य व्रतको सुरुआत गर्दछन् ।पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिन ‘सन्ध्या अर्घ्य’ दिइन्छ । यस दिन निराहार रहेका व्रतालुहरू साँझपख खोला, नदी, पोखरी तथा जलाशयमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य अर्पण गर्दछन् र रातभर नदी किनारमै जाग्राम बसी भजनकीर्तनमा लीन हुन्छन् । पर्वको चौथो तथा अन्तिम दिन सप्तमीमा ‘उषा अर्घ्य’ दिने गरिन्छ। बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर पूजा विसर्जन गरिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्दछन् र आफन्तजन तथा श्रद्धालुहरूलाई बाँडेर चार दिने कठोर व्रत समापन गर्दछन् ।छठ पूजाका लागि उखु, केराको बोट र फल, बेसार, अदुवा, नरिवल, जौ तथा विशेष परिकारका रूपमा ठेकुवा र भुसुवा जस्ता सामग्रीहरूको प्रयोग गरिन्छ। अत्यन्त पवित्र र शुद्ध मनले षष्ठी भगवती र सूर्यको पूजाआराधना गर्दा पारिवारिक मनोकामना पूरा हुने, घरपरिवारमा सुख–शान्ति तथा समृद्धि छाउने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । साथै, यो पर्वमा विशेष रूपमा पुत्र, पति तथा सम्पूर्ण परिवारको दीर्घायु र कल्याणको कामना गरिन्छ ।छठ पर्वको सुरुआतका विषयमा विभिन्न धार्मिक तथा पौराणिक मान्यताहरू जोडिएका छन्। लङ्का विजयपछि अयोध्यामा रामराज्य स्थापना गर्ने क्रममा कार्तिक शुक्ल षष्ठीका दिन भगवान् राम र सीताले सूर्यदेवको उपासना गरी रातभर जाग्राम बसेर सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएको कथन पाइन्छ। त्यस्तै, सूर्य पुराणअनुसार अत्रि ऋषिकी पत्नी सती अनुसूयाले आफ्नो दाम्पत्य निष्ठा र सुख–शान्तिका लागि यो व्रत गरेकी थिइन्, जहाँबाट यो परम्परा सुरु भएको मानिन्छ । महाभारतकालमा पाण्डवहरूको वनवासका क्रममा द्रौपदीले अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको र सूर्यपुत्र कर्णले पानीमा डुबेर लामो समय सूर्य उपासना गरी महान् योद्धा बन्ने शक्ति प्राप्त गरेको शास्त्रीय मान्यता पनि यस पर्वसँग जोडिएको छ । छठ पर्व यस्तो अद्वितीय चाड हो, जसमा अस्ताउँदो र उदाउँदो दुवै स्वरूपका सूर्यलाई समान आस्थाका साथ अर्घ्य दिइन्छ ।धार्मिक विश्वासका साथै छठ पर्व प्रकृतिको ऊर्जा र मानव स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। सूर्यको किरणबिना पृथ्वीमा कुनै पनि प्राणी तथा वनस्पतिको अस्तित्व सम्भव नभएकाले सूर्यलाई सकारात्मक ऊर्जा र शक्तिको स्रोत मानिन्छ। बिहानको समयमा तामाको भाँडामा जल राखेर सूर्यलाई चढाउँदा र सूर्यस्नान (सनबाथ) गर्दा शरीरका महत्त्वपूर्ण अङ्गहरू सक्रिय भई विभिन्न रोगहरूबाट मुक्ति मिल्ने वैज्ञानिक आधारसमेत रहेको छ । यही सम्पूर्ण ऊर्जा, जीवन र शक्तिका कारक सूर्यदेवलाई स्वास्थ्य र कल्याणको स्रोत मानेर छठ पर्वमा विशेष उपासना गर्ने गरिन्छ ।







