चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ अति शक्तिशाली चक्रवातमा विकसित हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै यो चक्रवात बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमका भूभागमा पुग्ने सम्भावना रहेको जनाएको छ।
नेपालमा यसको प्रभाव भने बिहीबारदेखि पर्ने महाशाखाले जनाएको छ।
यसको प्रभावले नेपालका पाँच प्रदेशमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा यसको प्रभाव बढी पर्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्छ।
लुम्बिनी प्रदेशका केही ठाउँमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
वर्षाको प्रभावसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।







