नेपाल मा क्यासिनो मा प्रवेश निषेध गरेपछि जुवा खेल्न भारत !!

जब साँझ पर्न थाल्छ, ग्राहकको घुइँचो लागिहाल्छ। र, मध्यरातसम्मै खाल जम्छ।
शान्त समुद्रको आनन्द लिँदै जुवा खेल्न पाउनुलाई उनीहरू ठूलो प्राप्ति ठान्छन्। शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने जुवाका त्यस्ता खालमा सहभागी हुन केही नेपाली पनि गोवा पुग्छन्। ‘क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ। म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पूरापूर गर्न चाहन्छु,’ रोयालमा भेटिएका भक्तपुरका नवीन शर्मा (नाम परिवर्तन) ले भने, ‘नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ।’ उनले आफू जग्गा कारोबारी भएको पनि बताए।
सरकारले नेपाली नागरिकलाई क्यासिनो खेल्न बन्देज लगाउँदा पुँजी पलायन भएको बताउँछन्, काठमाडौंस्थित एक क्यासिनोका सञ्चालक। ‘नेपालीलाई यहाँ खेल्न नदिएर के गर्नु, गोवा, सिक्किम वा अन्त कतै गएर खेलिहाल्छन्,’ उनी भन्छन्, ‘एक प्रकारको मानवअधिकार हनन नै हो यो पनि।’ नेपाली ग्राहक नहुँदा क्यासिनोले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।
उता डेल्टिन क्यासिनोमा भेटिएका अर्का नेपाली भने आफूले पैतृक सम्पत्तिका रूपमा काठमाडौंको १५ रोपनी जग्गा प्राप्त गरेकोमा अब ३ रोपनीजति मात्र बाँकी रहेको बताउँछन्। ‘लत लागिहाल्यो अब छाड्नै गाह्रो छ,’ उनी भन्छन्, ‘आफ्नै देशमा बसेर खेल्न पाएको भए किन यति टाढा आइन्थ्यो र!’ निकै भावुक स्वभावका उनी समुद्र पनि हेर्न पाइने अनि जुवा पनि खेल्न पाइने भएकाले गोवामा दोहोरो फाइदा प्राप्त भएको ठान्छन्। प्रायजसो फ्लस खेल्ने उनी एकपटक खेलेपछि उठेर ४ तलामाथि रहेको क्रुजको छतमा जान्छन्। छतबाट रात्रिकालीन समुद्रको पर कतै उर्लिरहेको लहरको आवाज सुन्छन् र फेरि खेल्न फर्कन्छन्। ‘जिन्दगीको मजा मलाई योभन्दा अर्को कुनै होलाजस्तो लाग्दैन’, उनी भन्छन्। उनी रोयालका नियमित ग्राहक हुन्। नागरिक दैनिक मा खबर छ







