सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ
सिराहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले करिब २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले बताएका छन् ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्ला ललमनियाँ थाना क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी रहेका छन् । उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालक रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिकबाट भारततर्फ ठुलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी टोलीले गाडी रोक्न खोजेको थियो । सो क्रममा गाडीले ड्युटीमा रहेका सई यादवलाई ठक्कर दिएको र गम्भीर घाइते भएका यादवको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटना २०८१ मङ्सिर १६ गते बिहान करिब ३ बजेर १० मिनेटमा भएको प्रहरीले जनाएको छ । त्यसबेला कचनारीस्थित बीओपीबाट सई यादवको कमाण्डमा पाँच सदस्यीय गस्ती टोली परिचालन गरिएको थियो ।
घटनापछि फरार रहेका मन्सुरीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार २०८३ असाेज ३ गते साँझ करिब ७:१० बजे कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक उनलाई पक्राउ गर्न खोज्दा उनीसहित तीन जनाले प्रहरी टोलीतर्फ एक राउन्ड गोली चलाएका थिए ।
जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाउँदा मन्सुरीको बायाँ हातको कुहिना र दायाँ खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ । घाइते मन्सुरीलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिराहामा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मन्सुरीमाथि ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि ज्यान मार्ने उद्देश्यले गाडी प्रयोग गरी आक्रमण गरेको तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार मन्सुरी नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करीमा समेत संलग्न रहेको खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख वासुदेव पाठकले जनाएको छ ।







