Breaking News Tuesday, 4 Aug, 2026
Prestige Media

तेलको भाउ अकासिन नदिएर सारा संसारलाई चीनले लगाएको गुण

अमेरिका र इसराइलले फेब्रुअरी २८ मा संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो नजिकै रहेको समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्‍यो।

युद्ध अघि सो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुने गर्थ्यो। त्यसैले हर्मुज बन्द हुँदा तेल आपूर्ति कम भई अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो। नेपालमा पनि डिजल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास लगायतको भाउ बढ्यो।

तर पनि युद्धका कारण भाउ जति बढ्छ भन्ने डर थियो, त्यति बढेन। अमेरिकाले इरानसँग युद्ध सुरू गरेको समयमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य प्रति ब्यारेल ७० डलरको आसपास थियो।

इरानले हर्मुज बन्द गरेपछि धेरैले तेलको भाउ बढेर प्रति ब्यारेल १५० डलर कट्ने ठोकुवा गरेका थिए। कतिले त प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने अनुमान गरेका थिए।

तर केही हप्ता युद्ध लम्बिँदा पनि तेलको भाउ अनुमान गरे जसरी बढेन।

अमेरिकाले अप्रिल अन्त्यमा नाकाबन्दी लगाएर इरानलाई समेत हर्मुज प्रयोग गरेर तेल बेच्न रोकेपछि बल्ल तेलको भाउ प्रति ब्यारेल १२० डलर कट्यो।

अप्रिल २९ मा प्रति ब्यारेल १२० डलर कटेर भोलिपल्ट १२६ डलर पुगेको भाउ त्यो भन्दा बढेको छैन। करिब एक हप्ता मात्रै प्रति ब्यारेल १२० डलरमाथि रह्यो।

इरान युद्ध सुरू भएपछिको पाँच महिनामा तेलको भाउ धेरैजसो प्रति ब्यारेल १०० डलरभन्दा तल नै रह्यो। अहिले त ९० डलरभन्दा कम छ। यसले नेपालसहित संसारभरिका उपभोक्तालाई राहत भयो।

अब लामो समयसम्म हर्मुज अवरूद्ध हुँदा पनि किन तेलको भाउ धेरै बढेन भनेर चर्चा गरौं।

युद्ध अघि हर्मुज हुँदै हरेक दिन लगभग दुई करोड ब्यारेल कच्चा तेल पैठारी हुने गर्थ्यो। युद्ध सुरू भएपछि पनि हर्मुज पूर्ण रूपमा बन्द रहेन। सुरूमा इरानले सो जलमार्ग हुँदै केही मात्रामा तेल निरन्तर बेच्यो। युद्ध तन्किँदै गएपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार लगायत खाडी राष्ट्रले पनि अमेरिकी सेनाको सहयोगमा इरानले थाहा नपाउने गरी हर्मुजबाटै केही तेल बेचे। त्यसबाहेक साउदी र युएईले पाइपलाइन प्रयोग गरेर केही तेल हर्मुज छलेर बेच्न सफल भए।

त्यस्तै अमेरिका लगायत पश्चिमा राष्ट्रहरूले पनि तेलको अभाव भएर भाउ धेरै नबढोस् भनेर आफ्नो भण्डारमा रहेको तेल निकालेर खपत गर्न थाले। तेलको भाउ बढ्न थालेपछि माग पनि केही घट्न थाल्यो। त्यसले पनि भाउमा बढ्ने क्रम केही रोकियो।

तर यति कारणले मात्रै तेलको भाउ प्रति ब्यारेल १०० डलरभन्दा तल रहन सम्भव थिएन। चीनका कारणले मात्रै संसारभरि तेलको भाउ धेरै नबढेको भनेर अहिले विज्ञहरू एकमत छन्।

इरान युद्ध अघि चीनले दैनिक करिब एक करोड २० लाख ब्यारेल कच्चा तेल आयात गर्थ्यो। युद्ध सुरू भएपछि चीनले आफ्नो आयात लगभग आधा घटाएका कारणले नै तेलको भाउ नियन्त्रणमा रहेको मानिन्छ।

आयात घटाए पनि यस अवधिमा चीनको खपत खासै नघटेको आकलन गरिन्छ। कोभिड महामारीको बेला जस्तो चीनले कलकारखाना बन्द गरेन र आर्थिक गतिविधि सामान्य अवस्थामा जस्तै चलिरहेको मानिन्छ। यस्तोमा अरूले थाहा नपाउने गरी चीनले रूसबाट सुटुक्कै तेलको आयात बढाएको पनि हुन सक्छ।

तर त्यस्तो सम्भावना धेरै कम रहेको विज्ञहरू जनाउँछन्।

अहिले रहेका पाइपलाइनबाट त्यति धेरै मात्रामा रूसी तेल ल्याउन सम्भव छैन। अर्कोतर्फ रूसबाट गोप्य रूपमा पानीजहाजमा तेल ल्याउन भने सम्भव छ। तर छलेर रूसबाटै ल्याएको तेल पनि चीनका बन्दरगाहमा आइपुग्दा सबैले देख्छन्। त्यस्तो भएको भए आयातको परिणाम बढी देखिने थियो।

उसो भए चीनले कसरी तेलको खपत नघटाइकनै आयात आधा घटायो त?

युद्ध सुरू भएपछि चीनले आफ्नो भण्डारबाट झिकेर ठूलो मात्रामा तेलको खपत गरेको मानिन्छ। चीनको उदय रोक्न अमेरिकाले चीनलाई नाकाबन्दी लगाउन सक्छ भन्ने चीनलाई डर छ। ताइवानका कारण अमेरिकासँग युद्ध भए पनि अमेरिकाले नाकाबन्दी लगाउने खतरा रहन्छ। त्यसैले चीनले पछिल्ला वर्षमा आफ्नो भण्डारण क्षमता व्यापक रूपमा बढाएको मानिन्छ।

पश्चिमा राष्ट्रको जस्तो आफ्नो क्षमता नखुलाउने चीनले कति तेल भण्डार गर्न सक्छ भनेर यकिनसाथ भन्न सकिन्न। तर चीनको भण्डार क्षमता अहिले डेढ अर्बदेखि दुई अर्ब ब्यारेलसम्म पुगेको मानिन्छ। यही विशाल भण्डारबाट झिकेर चीनले तेल खपत गरेकाले इरान युद्धको बेला तेलको भाउ नियन्त्रणमा रहेको मानिन्छ।

चीनले आफ्नो भण्डारमा रहेको तेल प्रयोग नगरेर सामान्य अवस्थामा जस्तै आयात गरेको भए अन्तर्राष्ट्रिय बजारमा तेलको अभाव भएको बेला भाउ धेरै नै बढ्ने थियो। चीनले भण्डार प्रयोग गरेर आयात घटाएकाले माग धेरै नबढेर तेलको भाउ अकासिएन।

चीनले आफू युद्धमा होमिएका बेलाको लागि भण्डार गरेर राखेको तेल अमेरिका-इरान युद्धको बेला प्रयोग गर्छ कि गर्दैन भन्ने कसैले भन्न सक्ने स्थिति थिएन। त्यसैले सामान्य समयमा तेलको माग हेरेर भाउ प्रति ब्यारेल १५० डलरमाथि जाने धेरैले अनुमान गरेका थिए।

अब चीनले किन तेलको भाउ बढ्न नदिन आफूलाई अप्ठ्यारो परेका बेला प्रयोग गर्न जगेडा गरेको तेल खपत गर्‍यो भन्नेबारे चर्चा गरौं।

विश्वको सबभन्दा धेरै कच्चा तेल आयात गर्ने चीनले आफ्नो भण्डार नचलाएर तेलको भाउ अकासिएको भए विश्व अर्थतन्त्रमा नै समस्या पर्थ्यो। तेलको खुद निर्यातकर्ता भएकाले भाउ बढ्दा अमेरिकालाई समग्रमा यसले फाइदा हुन्छ।

तर पनि घरेलु उपभोक्ता मूल्य अकासिएर युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकामै व्यापक दबाब बढ्थ्यो। यसले चीनसँग राम्रो सम्बन्ध भएको इरानलाई राहत हुन्थ्यो। तर पनि चीनले त्यसो गरेन।

यसका पछाडि धेरै कारण हुन सक्छन्। चीनले यथावत् रूपमा तेल आयात गरेको भए भाउ अझै अकासिन्थ्यो। यस्तोमा धेरै महँगो तेल किनेर प्रयोग गर्नुभन्दा सस्तो हुँदा किनेर भण्डार गरेको तेल चलाउनु आर्थिक रूपमा फाइदाजनक हुन्छ। भाउ घटेपछि आयात बढाएर भण्डार फेरि भर्नु आर्थिक रूपमा बुद्धिमानी हुन्छ।

त्यसैले चीनले भूराजनीतिभन्दा पनि आफ्नो आर्थिक स्वार्थ हेरेको हुन सक्छ। मुख्य प्रतिद्वन्द्वी अमेरिकाको हानि वा रणनीतिक मित्र इरानको लाभभन्दा पनि चीनले आफ्नो आर्थिक फाइदा हेरेको हुन सक्छ।

त्यस्तै तेलको भाउ अकासिएको भए चीनलाई अप्रत्यक्ष रूपमा पनि आर्थिक घाटा हुने थियो। चीनको अर्थतन्त्र निर्यातमा आधारित छ। तेलको भाउ अकासिएर अर्थतन्त्र नै संकटमा परेको भए अरू देशको चिनियाँ उत्पादन किन्ने हैसियत हुँदैनथ्यो।

त्यसैले आफ्ना ग्राहकहरूको अर्थतन्त्र भताभुंग हुनबाट जोगाएर चीनले आफ्नो निर्यातमुखी अर्थतन्त्रको निरन्तरता सुनिश्चित गर्‍यो।

चीनले आफ्नो ‘सफ्ट पावर’ बढाउन पनि तेलको भाउ बढ्न नदिएको हुन सक्छ। ट्रम्पले सनकको भरमा इरानसँग युद्ध सुरू गरेर विश्व अर्थतन्त्रलाई खतरामा पारेको बेला चीनले आपतका लागि राखेको तेल चलाएर भाउ बढ्न नदिएको भनेर चीनले सबैको तारिफ पाउन सक्छ।

तर ‘सफ्ट पावर’ बढाउन वा तारिफका लागि यसो गरेको भए भाउ बढ्न नदिएर विश्व कल्याण गरेको भनेर चीनले यसको श्रेय लिन्थ्यो। अहिलेको जस्तो यस विषयमा पूर्ण रूपमा मौन रहने थिएन।

त्यस्तै चीनले आफ्नो आयात आधा कम गरेर पनि अर्थतन्त्र सामान्य अवस्थामा चलाएर अमेरिकालाई सन्देश दिएको पनि हुन सक्छ। नाकाबन्दी लगाएर तेल आपूर्ति रोकी चीनलाई घुँडा टेकाउन सकिन्न भनेर चीनले अमेरिकालाई स्पष्ट सन्देश दिएको छ।

त्यस्तै तेल आपूर्तिमा समस्या होला भनेर ताइवानबारे कदम चाल्न चीन हिचकिचाउने छैन भनेर पनि अमेरिकाले बुझेको छ।

त्यसबाहेक विशाल भण्डार क्षमताका कारण चीनले तेलको भाउ निर्धारण गर्न सक्ने खेलाडीका रूपमा पनि आफूलाई स्थापित गरेको छ। विश्वमा सबैभन्दा बढी कच्चा तेल आयात गर्ने राष्ट्रका हैसियतले चीनलाई जहिले पनि तेलको अभाव र भाउ बढ्ने खतरा रहेको छ।

भण्डार क्षमताको व्यापक विस्तार पछि भने चीनले भाउ अकासिएको बेला सस्तोमा किनेर राखेको तेल प्रयोग गर्न सक्ने भएको छ। अनि सामान्य अवस्थामा पनि आफ्नो आयात ठप्प पारेर तेलको अन्तर्राष्ट्रिय भाउ ह्वात्तै घटाउन सक्ने भएको छ।

चीनले जे जे कारणले यसपालि भण्डार गरेको तेल चलाएको भए पनि तेलको भाउ अकासिन नदिएर सारा संसारलाई गुण भने लगाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

दुर्गा प्रसाईं पक्राउ

यी तीन प्रेदेशमा धेरै भारी वर्षा हुने सम्भावना

हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

यी स्थानमा भारी वर्षाको सम्भावना

झडप रोकिएको देवानगन्जमा त्रास मेट्ने उपायको खोजी

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक

आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

सुनसरीको पाँच ठाउँमा अनिश्चितकालीन कर्फ्यु

सरकारको कार्यशैलीले सन्त्रासमा कर्मचारी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL