माओवादी पदाधिकारी बैठकः प्रधानमन्त्रीले राजीनामा नदिने
काठमाडौं–सत्तारुढ नेकपा माओवादी केन्द्रको बालुवाटार बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेबीचको सहमतिअनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा नदिने निर्णय गरेको छ। राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आलोपालो सरकार निर्माण गर्ने कांग्रेस र एमालेबीच सहमति जुटेसँगै राजीनामा दिने अड्काल काटिए पनि माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट विश्वासको मत लिने र राजीनामा नदिने निर्णय गरेको हो।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने र बरु प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार एमाले सरकारबाट फिर्ता भए प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन्।
प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष बालुटावार पदाधिकारी बैठकले निकालेको सचिव पौडेलले पत्रकारलाई प्रतिक्रिया दिए। उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुस् भन्दा दिनै कुरै छैन। विश्वास मत लिइने बताउनुभएको छ। विश्वासको मत नपाए मात्रै राजीनामा दिनहुन्छ। कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने निर्णय बैठकमा भएको छ।’







