मर्स्याङ्दी आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन
काठमाडौं– आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ। केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले समयमै वर्षा भएकाले जेठ दोस्रो सातादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको बताए। केन्द्रमा रहेका तीन युनिटबाट २३÷२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले जानकारी दिए। ‘सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ। यसपटक समयमा वर्षा भएकाले हाल पूर्णक्षमतामा विद्युत् उत्पादन भएको हो’, उनले भने।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने गरेकाले पानी अभाव नभएको गौतमले बताए।
‘वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ’, उनले भने, ‘सुक्खायाममा भने हिउँ कम पग्लने, नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ।’
केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।







