सुन मूल्यमा नयाँ रेकर्ड, १ लाख ४५ हजार पुग्यो
काठमाडौं– नेपाली बजारमा सुन मूल्य बढ्ने क्रम जारी छ। आज छापावाल सुन १००० ले बढेर प्रतितोला १ लाख ४५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ४४ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९०० पुगेको महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १ हजार ८५० मा कारोबार भएको थियो। सरकारबाट जेठ १५ मा सार्वजनिक आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणासँगै नेपाली बजारमा मूल्य उकालो लाग्ने क्रम बढेको हो।







