विश्वासको मत नपाएपछि मधेसमा जसपाका मुख्यमन्त्री पदमुक्त
काठमाडौं–जनता समाजवादी पार्टीबाट मधेस प्रदेशमा मुख्यमन्त्री रहेका सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन्। मधेस प्रदेशसभामा हाल कायम १०६ सांसदमध्ये बहुमत उनको विपक्षमा मतदान गरेपछि पदमुक्त भएका हुन्। बुधबारको मतदानमा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए। प्रदेशसभा बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ।
जसपा, लोसपा, नेपाली कांग्रेस र राप्रपाले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेका थिए। तर, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टीका सांसदले भने विपक्षमा मतदान गरे। प्रदेशसभामा बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री यादव पदमुक्त भएका छन् भने सत्ता गठबन्धनबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने समझदारी भएको छ। सप्तरी क्षेत्र २ ९क० बाट निर्वाचित उनलाई सत्तारुढ गठबन्धनका चार दलको निर्णयबाट मुख्यमन्त्री बनाउन लागिएको बुझिएको छ। बुधबार प्रदेश सभामा जसपा नेता यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी छन्।







