हिउँदमा १५ अर्बको बिजुली खरिद
विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ। सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो।
यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ।
प्राधिकरणले गत वर्ष जेठदेखि यस वर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ।
चालू आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ।
प्राधिकरणले चालू आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो। यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो।
आयात गरिएको विद्युत् मूल्य निर्यात गरिएभन्दा सस्तो रहेको छ। निर्यात गरिएको विद्युत् प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्ष (आव)मा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए।
‘६÷७ वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो। २÷३ वर्ष अघिबाट विद्युत् निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चालू आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ। आवको बाँकी अवधिमा निर्यात हुने विद्युत्को परिणामले यो ग्यापलाई पूरा गरी खुद निर्यातकर्ताका रुपमा रहनेछौं।’







