चार सवारीसाधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, २२ घाइते
काठमाडौं–चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगर–२९ सत्रकिलोमा गए राती चार सवारीसाधन एकापसमा ठोक्किएका छन्। दुर्घटनामा २ को मृत्यु र २१ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ का १३ वर्षीय सोयन पुन र ट्रकका सह–चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन्। पुनको राती नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राती साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए।
दुर्घटनापछि राती सडक अवरुद्ध भएको थियो। आज बिहानदेखि सवारीसाधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।







