३०औं पटक सगरमाथा आरोहण गरेर कामीरिताको विश्व कीर्तिमान
काठमाडौं– कामीरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्।
‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औं पटक पाइला टेकेर नयाँ कीतिमान कायम गरेका छन्’, सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।
फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी ४६० बढीले सगरमाथा आरोहण गरिसकेका छन्।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामीरिता कुशल पर्वतारोही पथ प्रदर्शक हुन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दाबा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।
गत वैशाख २८ देखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ।







