रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन उच्च स्तरमा कूटनीतिक पहल गर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए।
‘तपाईंहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भने, ’सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ।’
नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए। ‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैंले थप पहल गर्छु,’ प्रधानमन्त्री दाहालले भने। युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए। प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो। सोही प्रतिबद्धताअनुसार मंगलबार प्रधानमन्त्री दाहालले ती परिवारका सदस्यलाई भेटेर उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।







