आज पनि संसद् अवरोध, अर्को बैठक वैशाख २ मा
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको दाबी गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। १७ चैतदेखि अवरुद्ध संसद् बैठक अब २०८१ वैशाख २ मा बस्ने गरी सूचना टाँसेर गरिएको हो।
प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले वैशाख २ मा बैठक बस्ने गरी स्थगित गरिएको जानकारी गराए। प्रमुख प्रतिपक्षी कांग्रेस, राप्रपा र लोसपाले बुधबारको बैठक अवरुद्ध गरेका थिए। बैठकको आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानमा उठेर विरोध गरेका थिए।
त्यसपछि घिमिरेले वैशाख २ गते ११ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी गराए। यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेस सांसदहरुले अवरोध गरेपछि स्थगित गरिएको थियो। सहकारीमार्फत सर्वसाधारण ठगीमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले निरन्तर विरोध गर्दै आएको छ।







