राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसबाट पुडासैनी र एमालेबाट घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौं– २८ चैतमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा एमाले र प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।
पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन्। घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन्।
उम्मेदवारी दर्तापछि दुवै उम्मेदवार आफूले जिते राष्ट्रिय सभाको गरिमालाई उचाइ दिन भूमिका खेल्ने प्रतिक्रिया दिए। पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनेकी घिमिरेले निर्वाचित भए प्रतिनिधिसभाबाट पारितका लागि जाने विधेयक अघि बढाउन प्रभावकारी भूमिका खेल्ने बताइन्। राष्ट्रिय सभा अध्यक्षसँग छलफल गरेर सदन सञ्चालनमा सहयोग गर्ने उनको भनाइ छ। कांग्रेस उम्मेदवार पुडासैनीले उपाध्यक्षमा विजय भए राष्ट्रिय सभाको गरिमालाई महत्त्वमा राख्न भूमिका खेल्ने बताइन्। मतदान चैत २८ मा हुने कार्यतालिमा संसद् सचिवालयले सार्वजनिक गरेको छ।







