लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग
काठमाडौं– बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ।
रुपन्देहीको लुम्बिनी पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले गरेको भेटमा कोषको गुरुयोजनाबाहिरको सुरक्षा व्यवस्थापन जिम्मेवारीका विषयमा छलफल गरेको हो। कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी गुरुयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत व्यवस्थापन गर्न माग गरे। यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापनाको निर्णय गरी गृह मन्त्रालयमा फाइल पठाएको बताउँदै उहाँले यसबारे थप पहलका लागि ध्यानाकर्षण गराए।
छलफलमा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्प स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले विकास कोषको कामका सन्दर्भमा यसको व्यवस्थापन र विकासका लागि सम्बन्धित मन्त्रालयमा थप पहल गर्ने बताए। छलफलमा उपाध्यक्ष डा. लामाले गुरुयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको जानकारी दिए। कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिँदै आएको बताउँदै बजेटमा प्राथमिकता दिन आग्रह गरे। कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने भन्दै अहिले अस्थायी क्याम्प भएकाले यसलाई स्थायी बनाउन अनुरोध गरे।







