Exclusive News
Tuesday, 20 Feb, 2024
नेपालीले भारतीय सिमकार्ड सजिलै पाउने
काठमाडौं– अब नेपालीले भारतीय सीम कार्ड सहजै पाउने भएका छन्। यसअघि भिसा लागेको पासपोर्ट चाहिने व्यवस्था रहेको थियो।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार नेपाली भारतमा रहँदा आफ्नो परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाउनेछन्।
‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ,’ शर्माले लेखेका छन्, ‘पहिले प्राविधिक कारणले पाइँदैन थियो। राजदूतावासले औपचारिक अनुरोध गरेको केही सातामा यो निर्णय हुनु खुसीको कुरा हो।’
भारतले विदेशीले भारतीय सिमकार्ड लिन भिसा लागेको पासपोर्ट नै चाहिने नयाँ नियम ल्याएपछि त्यहाँ रहेका नेपाली मारमा परेका थिए। नेपाली नागरिक भारत जाँदा भिसा आवश्यक पर्दैन।







